`
काठमाडौं, ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले सन् २००५ देखि बन्द रहेको हङकङको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएन) की महिला सचिव राधिका (टीका) गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार साँझ भएको भेटमा मन्त्री भण्डारीले हङकङलाई नयाँ श्रम गन्तव्यका रूपमा लिने तयारी भइरहेको बताए ।
मन्त्री भण्डारीले हङकङले सन् २०२४ को जुलाईदेखि दक्ष कामदारका लागि सीपमा आधारित भिसा खोलिसकेको उल्लेख गर्दै अब वर्किङ र घरेलु कामदारका लागि पनि भिसा खुलाउन बेइजिङसँग समेत कुटनीतिक पहल आवश्यक रहेको पनि धारणा व्यक्त गरे ।
भेटमा सचिव गुरुङले हङकङमा हाल करिब ३० हजार नेपाली रहेको, र त्यहाँको हावापानी, सुरक्षा र पारिश्रमिकको हिसाबले रोजगारको राम्रो गन्तव्य भएकाले तत्काल भिसा खुलाउन पहल गर्न आग्रह गरिन । अवैध रूपमा महिलाहरू दलालमार्फत हङकङ जान थालेको र यसले ठूलो समस्या निम्त्याउन सक्ने उनको भनाइ थियो ।
जवाफमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा सुरक्षालाई पहिलो प्राथमिकता दिइने बताउँदै युएईसँग सुरु गर्न लागिएको पाइलट प्रोजेक्ट सफल भए अन्य देशमा पनि त्यसलाई लागू गर्न सकिने विश्वास व्यक्त गरे ।
त्यसैगरी, हङकङका लागि राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष गोकर्ण ढकालले द्विपक्षीय श्रम सम्झौता आवश्यक रहेको बताउँदै समन्वयात्मक पहलमा जोड दिनुभयो । भेटमा रसियाको श्रम स्वीकृति पुनः सुरु गर्न पनि आग्रह गरिएको थियो, जसमा मन्त्री भण्डारीले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।