काठमाडौं । अमेरिकाले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।
अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् । हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाे भन्दै विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको हाे । सरकारको यो निर्णय अमेरिकाका अरु विश्वविद्यालय र शैक्षिक केन्द्रहरूका लागि चेतावनी पनि भएको उल्लेख गरेकी छन् ।
यससँगै अब भर्ना भइसकेका विदेशी विद्यार्थीहरु अन्य विश्वविद्यालयमा स्थानान्तरण हुनुपर्ने क्रिस्टी नोमको भनाइ छ । स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत अमेरिकाको सबभन्दा पुरानो र विश्वप्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा नेपालसहित १४० भन्दा धेरै देशका नागरिकहरुले अध्ययन गर्दै आएका छन् ।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले यहुदी विरोधी भावना फैलाउन मद्दत गरेको, चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको लगायतको आरोप लगाउँदै आएको छ । हार्वर्डले विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै विदेशी विद्यार्थी पढाउन अनुमति नदिने सरकारको निर्णयले अमेरिकालाई नै हानि हुने चेतावनी दिएको छ ।
गत शैक्षिक सत्र हार्वर्डमा ६ हजार ७०० विदेशी विद्यार्थी भर्ना भएका थिए । सरकारी खर्च कटौतीको अभियानकाे शिलसिलामा यस्ताे निर्णय गरेकाे हाे।
त्यसाे त ट्रम्प प्रशासनले नीति सुधारका लागि भन्दै हार्वर्डलाई एक सूची पठाएकोमा सूचीमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनका विषयहरु समावेश थिए । तर हार्वर्डले त्यसलाई अस्वीकार गरेको भन्दै ह्वाइटहाउसले दुई अर्ब डलर बराबरको कोष नै रोक्का गरिदिएको थियो ।