नेत्र प्रसाद गौतम
बिजनेस हेड, हेटौँडा डेरि इन्डष्ट्रिज प्रालि एवं आहाना फुड एण्ड बेभरेज प्रालि
नेपालको दुग्ध उद्योगले देशको खाद्य सुरक्षा, पोषण र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। लाखौं किसानको जीवन यसै उद्योगमा निर्भर छ । तर पछिल्लो समय यो उद्योगले उत्पादन लागत वृद्धि, बजारमा आयातित वस्तुको चाप, मूल्यमा अस्थिरता र उपभोग दरमा गिरावट जस्ता समस्या भोगिरहेको छ । यस्ता चुनौतीले किसान र उद्योग दुवैको मनोबल कमजोर बनाइरहेको छ ।
हाल समग्र दुग्ध क्षेत्र आर्थिक अभावमा गुज्रिरहेको छ। दुग्ध उत्पादनको अनुपातमा खपत कम हुँदा किसान तथा उद्योगीहरु समेत मारमा परेका छन् । त्यस्तै, अघिल्लो बर्षको मौज्दात यस बर्षको लिन सिजनमा समेत खपत हुन नसक्दा समग्र डेरी क्षेत्र नै चरम आर्थिक संकटको चपेटामा परेको छ। एकातर्फ उद्योग सञ्चालन गर्न उद्योगीलाई गाह्रो छ भने अर्कोतर्फ उद्योगले भुक्तानी गर्न नसक्दा समग्र कृषक आर्थिक समस्यामा परेका छन् ।
यस्तो प्रतिकुल अवस्थाका वावजुद यसपालीको असार पन्ध्र मनाउन गइरहेका छौं । कृषकहरुले मानो रोपेर मुरी फलाउने दिन मात्र नभइ दही चिउरा खाएर ‘दही चिउरा उत्सव’ मनाउने दिन हो असार पन्ध्र । दूग्धजन्य पदार्थको माग बढ्न गएमा त्यसले समग्र किसान, दुग्ध व्यवसायी तथा डेरी उद्योगहरुमा सकारात्मक प्रभाव पर्न जानेछ ।
यसै सन्दर्भमा हामी सबै उपभोक्ताहरूसँग हार्दिक अपिल गर्न चाहन्छौं — स्थानीय उत्पादनको प्रयोग गरौं, दुग्धजन्य पदार्थहरूको उपभोग बढाऔं ।
डेरी क्षेत्रलाई उठाउन दहीको सेवन गरी केही हदसम्म भए पनि किसान र समग्र उद्योगमा मलम पट्टी लगाउनु हुने छ भन्ने आशा तथा विश्वासका साथ यसपालीको असार पन्ध्र भव्यताका साथ मनाउन शुभकामना दिन चाहन्छु ।
दुग्ध उत्पादनमा विश्वास गरौं, आत्मनिर्भर नेपाल निर्माणमा हातेमालो गरौं ।