काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकमा उनले आफूलाई मुद्दा लागेकोले कमिटीले मलाई बिदा गरे जान तयार भएको उल्लेख गरेका हुन्।
उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको समेत बताए । ‘मेरो कुरा गर्ने हो भने ममा आँट छ। पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ’ उनले भने।
उनले थपे, ‘मेरो मान्यता नबिराउनु, नडराउनु हाे, मैले जीवनमा एक पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइन, दिन आएकोलाई पनि अस्वीकार गरेको छु।‘‘बुवाले त्यही संस्कार मलाई सिकाउनुभयो– बाबु, तिमी मिहिनेत गर।‘
नेपालले भने कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन। …तर म धेरै नरम मान्छे हुँ। झोक चलेपछि मभन्दा कडा मान्छे कोही पनि छैन।
उनले संविधानको २३९ नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार तोकेको र यो संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारीको हकमा यो उपधारा अर्थात् अनुसन्धान गर्ने र तहकिकात गर्ने काम गर्न पाउने छैन, अख्तियारले पाउँदैन भनेको दाबी गरे ।























