काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा आजबाट आवेदन खुला भएको छ । बैंकले असार ३२ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकम बराबर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५७ रूपैयाँ प्रिमियम थप गरी जम्मा १५७ रूपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न गरेको हो ।
बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्काशन गरेको जानकारी दिएकाे छ। एफपीओ निष्काशनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ।
लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।





















