छमछमीको फाइनल आज राती, बिजेतालाई कार पुरस्कार

काठमाडौं, ९ कात्तिक । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज सनिबार राती हुँदै छ ।

काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुती सहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राती ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन् ।

गत वर्षको कात्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो ।

ती अडिसन राउन्डहरु पार गर्दै आएका प्रतियोगीमध्येबाट हाल ५ जना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा छन् । तिनै ५ जनामध्ये एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिने छन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप रहने छन् ।

भोटिङ लाइन शनिबार राति ९ः३० बजेसम्मका लागि खुला राखिएको छ ।

अन्तिम ५ प्रतियोगीहरुमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बु, महोत्तरीका नेशन सुश्लिङ मगर, मकवानपुरकी सन्ध्या आचार्य र पोखराका सपना धाही थापा छन् ।

प्रतियोगिताको विजेताले अल्टो के टेन कार पुरस्कारमा पाउने छन् भने फस्ट रनरअपले ५ लाख रुपैयाँ बराबरको र सेकेण्ड रनरअपले ३ लाख रुपैयाँ बराबरको उपहार पाउनेछन् । त्यसैगरीे उत्कृष्ट सातले १ लाख रुपैयाँ बराबरको उपहार प्राप्त गर्ने नेपाल टेलिभिजनले बताएको छ ।

यस प्रतियोगिताका निर्णायक मण्डलमा अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुइँटेल रहनुभएको छ ।

नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले विं सं २०६६ सालमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुवात गरिएको टेलिभिजनले जनाएको छ ।

छमछमी नाम दिएर शुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल र सिजन २ मा झापाकै साजन तामाङ विजयी भएका थिए । यसैगरी तेस्रो सिजनको विजेता हेटौंडाका सरोज प्रजा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here