सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप

काठमाडौं, १४ कात्तिक । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुने समय थप भएको छ ।

कोषले कात्तिक १४ गते बिहीबार एक सूचना जारी गर्दै एक महिनाको लागि सूचीकृत हुने समय थप भएको जनाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७६ साउन १ गते देखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा तोकिएको समयमा रोजगारदाताको उत्साहजनक सहभागिता नभएपछि एक महिना समय थपेको हो ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।

यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारले भनेको थियो । यो बीचमा न्यून संख्यामा मात्र रोजगारदाता संस्थाहरु दर्ता भएका छन् ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको जनाइएको छ । जसबाट साढे ७ करोडभन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा योजनामा मासिक पारिश्रमिक भुक्तानी गर्दादेखि आधारभुत पारिश्रमिकको ३१ प्रतिशत कट्टा गरी रोजगारदाताले कोषले तोकेको बैंक खातामा प्रत्येक महिना सकिएको १५ दिनभित्र रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

कोषमा सूचीकृत भइसकेपछि योगदानकर्ताले औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना प्राप्त गर्न सक्ने छन् भने कोषमा जम्मा भएको रकम योगदानकर्ता ६० वर्ष पुगेपछि मात्रै पाउने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here