माथिल्लो त्रिशूली १ मा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी

काठमाडौं , १५ कात्तिक । जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरि त्रिशूली १ जलविद्युत् निर्माणको सम्झौता आज हुँदैछ ।

जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि शुक्रबार नौ अन्तर्रा्ष्ट्रिय ऋणदाताहरूसँग कम्पनीले सम्झौता गर्न लागेको हो । आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।

प्रवर्द्धक कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार निर्माण अवधिसम्मको ब्याजसमेत गरी कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको हो। ३० प्रतिशत स्वपुँजी कम्पनीले लगानी गर्नेछ।

सम्झौतालगत्तै लगानी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने उनको भनाइ छ। रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको हो। आयोजना स्थलमा अहिले पहुँच मार्ग र साइट अफिस बनाउने काम भइरहेको छ।

वार्षिक १ हजार ५०१ मेगावाट आवर विद्युत् उत्पादन लक्ष्य राखिएको सो आयोजनामा ७२ मेगावाट क्षमताका तीनवटा युनिट रहनेछन्।

साढे ६ मिटर ब्यासको ९ हजार ७१६ मिटरको हेडरेस सुरुङ बन्नेछ। टेलरेस सुरुङ भने २३८ मिटरको हुनेछ। आयोजनाबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत १० किलोमिटर टाढा रहेको त्रिशूली थ्री बी हब सबस्टेसनमा जोडिनेछ।

निर्माण अवधि ५ वर्ष रहेको उक्त आयोजनाबाट कुनै ठूलो अवरोध सिर्जना नभए आगामी २०८१ सालबाटै विद्युत् उत्पादन सुरु हुने प्रवर्द्धक कम्पनीले जनाएको छ।

पछिल्लो समय वैदेशिक लगानी आकर्षणका लागि गरिएका कानुनी सहजता र कार्य अनुभवका आधारमा तीन महिनाभित्र स्वीकृति पाउने अपेक्षा अधिकारीको छ । ऋण लगानीका लागि अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) को नेतृत्वमा एसियाली विकास बैङ्क एडीबी, एसियाली पूर्वाधार विकास बैङ्क एआईआईबीले लगानी गर्ने निश्चित भएको छ ।

त्यस्तै एक्जिम बैङ्क कोरिया, कोरियाली विकास बैङ्क, कमन वेल्थ, नेदरल्यान्ड डिभेलपमेन्ट फाइनान्स कम्पनी एफएमओ, फ्रेन्च डिभेलपमेन्ट फाइनान्सियल इन्स्टिच्युट र तेल उत्पादकहरूको संस्था ओपेक फन्डको पनि ऋण लगानी हुने निश्चित भएको हो । रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना बन्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here