काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना,जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् । आज संविधान दिवस मूल समारोहलाई सम्वोधन गर्दै उनले यस्ताे बताएकी हुन् ।
उनले संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको बताइन्।
उनले आन्दोलनलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको जानकारी दिइन्। किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले युवा आन्दोलनका एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।
























