डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद: उद्योगीले बुझाए पहिलाे किस्ता,कुलमानले दिए धन्यवाद

काठमाडौं । सरकारका उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको जानकारी दिएका छन्। उनले आज फेसबुकमा पाेष्ट राख्दै हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गरेकाेमा उद्योगीलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन् ‘सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको थियो । अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए । तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ ।’

मन्त्री घिसिङले बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गरेकाे भन्दै प्रधानमन्त्री, अर्थमन्त्रीज्यू, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई आभार व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here