‘
काठमाडौं, २३ मंसिर । प्राध्यापक राजेन्द्र सुवेदी र तेजविलास अधिकारीद्धारा सम्पादित ‘समालोचकका आँखामा हरिहर खनाल’ पुस्तकको दोस्रो संस्करण मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
पुस्तक प्रकाशन र कार्यक्रममा आयोजना आलेख साहित्यिक मासिकले गरेको हो । पुस्तकको विस्तृत समालोचना प्रस्तुत गर्दै प्रा. डा. रामप्रसाद ज्ञवालीले भने, ‘यो एउटै लेखक–समालोचकको कृतिमाथि आधारित विचार, विश्लेषण र व्याख्याको दुर्लभ सङ्ग्रह हो, जसले खनालको योगदान बुझ्न सहयोग गर्छ ।’
खनालको व्यक्तित्व र कृतित्वबारे विगतदेखि वर्तमानसम्म लेखिएका विभिन्न लेखहरू यस पुस्तकमा समेटिएका छन्। पुस्तकमा ५८ लेखकका ६५ लेख छन्, जसमा पाँच ओटा अंग्रेजी भाषामा छन् ।
सन् १९४८ जुलाईमा कास्कीमा जन्मिएका सह–प्राध्यापक खनाल चार दशकभन्दा बढी समय शिक्षण क्षेत्रमा सक्रिय रहे र भरतपुर, चितवनस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको भूमिका समेत निर्वाह गरे।
कुल ४४० पृष्ठको पुस्तकमा समालोचकका लेख, विश्लेषण, तथा पत्रपत्रिकामा प्रकाशित खनालका कृतिमाथि विभिन्न टिप्पणीहरू समावेश छन् । पुस्तकको पहिलो संस्करण २०७० मा प्रकाशित भएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । सो कार्यक्रममा सम्पादक अच्युत घिमिरे, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्व कुलपति के. के. कर्माचार्य, लेखक डा. तुलसी भट्टराई, प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेल, वरिष्ठ साहित्यकार दयराम श्रेष्ठ, स्रष्टा हरिहर खनाललगायत धेरै लेखकहरू सहभागी थिए ।






















