२४ मंसिर, काठमाडौं । सहकारी विभागले सहकारी संस्थाका सञ्चालकलाई दोहोरो या तेहरो पदको जिम्मेबारी नलिन निर्देशन दिएको छ । विभागले सोमबार सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन नसक्ने व्यवस्था कार्यान्वयन गर्न भनेकाे छ।
विभाग र सहकारी नियामक निकायहरूबाट जारी निर्देशन तथा मापदण्ड समेत पालना नगरी हालसम्म पनि केही व्यक्तिहरू दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको पाइएकोले यथाशीघ्र कानुनी प्रावधान कार्यान्वयन गर्न सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई निर्देशन जारी गरेको हो ।
त्यस्तै विभागबाट जारी निर्देशन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, सहकारी संघ संस्थामा सुशासन प्रबर्द्धनको लागि जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड , २०८१ को परिच्छेद ७ को कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन भन्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ ।
कानुन तथा नियमनकारी निकायका निर्देशन परिपालना गर्नु, स्वार्थको द्वन्द्वका कारणले हुन सक्ने स्रोतको दुरुपयोग रोक्नु, सञ्चालक समितिको कानुन बमोजिम वैधानिकता कायम राख्नु पर्ने सवालमा सबै सचेत र सजग हुनुपर्ने विभागले जनाएको छ ।
सहकारी संस्थाहरूको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरूले अनुगमन, निरीक्षण, नियमन तथा सुपरीवेक्षणको क्रममा उल्लेखित कानुनी प्रावधानको परिपालना अवस्था हेरी परिपालना नभएको पाइएमा सहकारी ऐन र नियमावली अनुसार कारबाही गर्न विभागले भनेको छ ।






















