काठमाडौं । चालु आर्थिक वर्षकाे पुसमा करिब २ खर्ब रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलर बलियो हुँदा नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।
अहिले एक अमेरिकी डलर बराबर नेपाली पैसा १ सय ४६ रुपैयाँ पुगेको छ ।
चालु आव ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अुनसार सोही अवधिमा भित्रिएको कुल रेमिट्यान्स १० खर्ब ६२ अर्ब पुगेको छ ।
गत आवकाे पुसम्ममा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । चालू आवको पुसमा विप्रेषण आप्रवाह १ खर्ब ९१ अर्ब ६२ करोड छ । गत आव सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड थियो ।
चालु आव ६ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । गत आव यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
चालु आव पुससम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड थियो ।
चालु आव पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८ सय ७ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७ सय ३३ छ ।
गत आव सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने २ लाख ३० हजार ४ सय ३९ र पुन: श्रम स्वीकृति लिनेको १ लाख ६२ हजार ६ सय २८ थियो ।




















