काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंक बढेको छ । आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्म घटेको नेप्से बढेर २६७४.२० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंक बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका मध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ६४ कम्पनीको मूल्य घटेको छ । यता ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन । नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । यस दिन बैंकिङ १०.८०, विकास बैंक ४३.८०, वित्त ५४.५०, होटल २९.६८, जलविद्युत् १६.४०, लगानी ०.६१, जीवन बीमा ७६.७७, उत्पादनमूलक ७०.७०, लघुवित्त १९.६२, निर्जीवन बीमा ४५.९१, अन्य २७.४४ र व्यापार समूह ४०.९१ अंक बढेको छ ।
३ सय ४१ कम्पनीको ५५ हजार २ सय ६ कारोबारबाट ५ अर्ब ६४ करोड बराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम गत साता बिहीबारको तुलनामा धेरै हो । बिहीबार नेप्सेमा ४ अर्बभन्दा धेरैको कारोबार भएको थियो ।


























