९ जेठ, काठमाडौं । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभाले अखिलकुमार चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चापागाईंलाई आगामी कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिक्रम राई, उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महासचिवमा माधब गिरी, कोषाध्यक्षमा सुशील कडरिया, सचिवमा अम्बिका शर्मा लामिछाने र सह(कोषाध्यक्षमा शेरबहादुर कुँवर चुनिएका छन् । यस्तै सदस्यहरूमा अनोज रिमाल, प्रेम पाण्डे, निरज तिमल्सिना, माइकल कर्माचार्य, बिनय उपाध्याय, गोकर्ण लामिछाने, विजयप्रसाद गुप्ता र शैलेन्द्र बुढाथोकी रहेका छन् ।
साधारणसभाको अवसरमा नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्र्टको सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईंले तीन दशकभन्दा बढी समयदेखि संघले नेपाल र अस्ट्रेलियाबीचको व्यापार, लगानी, पर्यटन र शिक्षा क्षेत्रको प्रवद्र्धनमा पुलको काम गरिरहेको बताए ।
उनले आगामी दिनमा अस्ट्रेलियाली दूतावास र सरोकारवालासँग मिलेर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत अन्स्र्टको उपस्थितिमा भएको उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कुटनीतिक नियोगका पदाधिकारी, प्रतिष्ठित उद्यमी र शैक्षिक क्षेत्रका अगुवाहरूको सहभागिता थियो । सभाले संघको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै दुई देशबीचको आर्थिक र जनस्तरको सम्बन्ध विस्तारका लागि भावी योजनाहरूमाथि छलफल गरेको छ ।



















