रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रासस
रसुवा । ल्हेन्दे खोलामा लेदोसहितको बाढी आएपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रुपमा बन्द गरिएको छ ।

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन बन्द गरिएको हो । खोलाको अवस्था सामान्य रहे सोमबारबाट पुन: विद्युत् उत्पादन सुरु गरिने उनले बताए । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुन: क्षति पुग्न सक्ने आशंकामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन् ।रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुन: सञ्चालनमा ल्याइने उनले बताए ।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गरेका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्‍याएको छैन ।

मैलुङ सडकखण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न अनुरोध गरेका हुन् ।

लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

कतै पनि विपद्को अवस्था देखिएमा आपत्कालीन नि:शुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी परियारले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।