काठमाडौं । फिफा विश्वकप २०२६ को विजेताले यस पटक विश्वकप ट्रफी मात्र होइन च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने भएका छन् । जुलाई १९ मा हुने फाइनलको विजेताले विश्वकपको ट्रफी अंकित रिङ पनि पाउने भएका हुन् ।
रिङको एकातर्फ फिफा विश्वकपको ट्रफी र अर्कोतर्फ विजयी टोलीको पहिचान झल्किने गरी कस्टमाइज गरिने बताइएकाे छ।
जुलाई १९ मा न्यूयोर्क न्यू जर्सी स्टेडियममा फिफा विश्वकप २०२६ को च्याम्पियनको विजेता घाेषणा हुने छ। फिफा विश्वकप २०२६ को फरक नम्बरका २०२६ वटा विशेष रिङ तयार गरिनेछ ।
यी मध्ये ३० थान रिङ विजयी टोलीलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ थान फिफा विश्वकप २०२६ को इतिहासको अंशको रुपमा विश्वभरका समर्थकहरुको लागि राखिनेछ ।
प्रत्येक रिंगमा छुट्टाछुट्टै नम्बर हुनेछ, साइज अनुसार मिलाइनेछ र यसको आफ्नै आधिकारिकताको प्रमाणपत्रसहित वितरण गरिनेछ ।
फाइनल खेल सकिएलगत्तै विजयी टोलीका कप्तान र मुख्य प्रशिक्षकले अस्थायी रिङहरू प्राप्त गर्नेछन् ।
विजेताको लागि निर्धारण गरिएका ३० वटै रिङलाई कस्टमाइज गरेर पछि आधिकारिक रूपमा हस्तान्तरण गरिने फिफाले जनाएको छ ।
