काठमाडौं, ८ साउन । अब नेपालमा भएका मनि चेञ्जर र वाणिज्य बैंकले सहजरुपमा भारतीय रुपैयाँको सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै बैंकहरु र मनी चेञ्जरहरुले साटेको भारु राष्ट्र बैंकले सहजरुपमा साटने बताएको छ ।
तर सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था रहेको छ । सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रु. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० को सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा सटही गर्न सक्ने छन् ।
साथै, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था कायमै रहेको छ । गत वर्ष पुस २८ गते राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यी व्यवस्था गरेको थियो ।
नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने भारतीय रुपैयाँसम्म र यस बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबरसम्म) भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्छन् ।
सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ ।
