काठमाडौं, ११ साउन । प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले आयोजना गरिएको सनवे इनोभेसन फेस्टमा कृत्रिम वुद्धिमता एआई तथा रोबोटिक्समा सहभागीहरुको चासो बढेको छ । विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरुलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ काठमाडौंमा आयोजित कार्यक्रममा एआई प्रविधि, रोबोटिक्स तथा ड्रोनमा अवलोकनकर्ताको भिड लागेको थियो ।
कार्यक्रममा सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रुपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्यास समेत गरेका थिए । इनोभेसन फेस्टमा कृत्रिम बौद्धिमता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटिएकाले एकैथलोबाट सभागिहरुले लाभ लिएको सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।
सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाएको कलेजले जारी विज्ञप्तिमा उल्लेख छ । सनवे इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटेको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे लगायतले अवको युग सुचना प्रविधिको युग भएकाले सोही अनुसारको नीति, लगानी र खोज अनुसन्धान गर्नुपर्ने बताए ।
विद्यार्थीहरुको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टुडेन्ट इनोभेसन शोकेस’ आयोजना गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न सिर्जनशील कार्य तथा एप्सहरुलाई उत्कृष्टताका आधारमा पुरस्कार र सम्मान गरिएको थियो ।
यसले विद्यार्थीहरुलाई आफ्ना अनुसन्धान र परियोजनालाई उद्योग, विज्ञ तथा अन्य सहभागीमाझ प्रस्तुत गर्ने अवसर प्रदान गरेको सनवे कलेजका प्रिन्सिपल कुशल रेग्मीले बताए ।
सनवे इनोभेशन फेस्टमा विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सत्रसमेत सञ्चालन गरिएको थियो । कार्यक्रमका सहभागीहरूले उद्योगका विशेषज्ञहरुसँग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकास सम्बन्धी उपयोगी सुझाव प्राप्त गर्ने अवसर पाएका थिए ।
