अनुमति नलिई प्रसारण गरिएका विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन, कारबाहीको चेतावनी

१२ साउन, काठमाडौं । नेपाल विज्ञापन बोर्डले पूर्वस्वीकृति नलिई तथा मापदण्डविपरीत प्रसारण भइरहेका सबै प्रकारका विज्ञापन सामग्री तत्काल हटाउन वा कानूनी प्रक्रिया पूरा गर्न कडा निर्देशन दिएको छ।

विभिन्न सञ्चारमाध्यमबाट बोर्डको स्वीकृतिविना नै श्रव्य (रेडियो–अडियो), दृश्य (छापा–डिजिटल) तथा श्रव्यदृश्य (टिभी–भिडियो) विज्ञापनहरू प्रसारण भइरहेको पाइएपछि बोर्डले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

विज्ञापन बोर्डका अनुसार हाल प्रसारणमा रहेका कतिपय विज्ञापन सामग्रीमा विज्ञापनकर्ताको नाम, ठेगाना र आवश्यक चेतावनीमूलक सन्देशसमेत उल्लेख नगरेको पाइएको छ। साथै, तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने खालका कानूनले निषेध गरेका विषयवस्तु समावेश गरी विज्ञापन प्रसारण भइरहेकोप्रति बोर्डले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख) र विज्ञापन नियमावली, २०७७ को नियम ५ बमोजिम विज्ञापन सामग्रीको परीक्षण गर्ने अधिकार बोर्डमा निहित छ। सोही अनुसार विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) स्वीकृत भई हाल कार्यान्वयनमा रहेको छ।

कानूनी व्यवस्था अनुसार नेपालमा कुनै पनि श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि विज्ञापन बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनु अनिवार्य हुन्छ। बोर्डले हालसम्म स्वीकृति नलिई प्रसारण भइरहेका विज्ञापनहरूको तत्काल परीक्षण गराएर प्रक्रिया पूरा गर्न र कानूनविपरीतका सामग्री अविलम्ब हटाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

बोर्डको यो निर्देशन पालना नगरी कानूनी व्यवस्थाविपरीत विज्ञापन प्रसारण गरेमा वा गराइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेसमेत सूचनामा उल्लेख छ।