८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेका छन् ।
सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए । ‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो।
नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो, अर्थमन्त्री डा. वाग्लेले भने । नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगाएको उनको भनाई छ ।
अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए ।
सो क्रममा उनले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
