माथिल्लो त्रिशुली थ्री “ए” जलविद्युत केन्द्रमा उद्धारसम्बन्धी पछिल्लो प्रगति के छ ?

१८ भदौ, काठमाडौं । त्रिशूली जलविद्युत आयोजनामा उद्धारको काम आज पनि जारी रह्यो । उर्जा मन्त्रालयका अनुसार केवल टनेलको मुखबाट १५ फिट भित्रसम्म रहेको लेदो निकालेर त्यहाँसम्म नेपाली सेना प्रवेश गर्न सफल भएको छ ।

साथै थप अगाडिसम्म जाने प्रयास निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ । दिनरात निरन्तर काम गरी जमेको पानीलाई निकास दिन सम्भव भएको बताइएको छ । खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्‍चालन गर्न कुनै पनि सामान तथा खाद्यान्‍नसमेतको अभाव हुन नदिन आवश्यक बजेट, सामानको प्राप्‍ति, खर्च र सो अभिलेख व्यवस्थापन गर्ने समेत निर्णय मन्त्रालयको भनाई छ ।

खोज तथा उद्धार कमिटिसँग समन्वय गरी प्राधिकरणका सम्पर्कमा आए–नआएका सम्पूर्ण कर्मचारी तथा कामदारहरुको विवरण अद्यावधिक गर्ने निर्णय भएको छ । सम्पर्क हुन नसकेको कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का र गुनासो सुन्‍ने लगायतका काममा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा एक कमिटि गठन गर्ने निर्णय गरिएको छ ।

हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त भएको प्राधिकरणको माथिल्लो त्रिशुली ३ ए जलविद्युत उत्पादन केन्द्रको पावर हाउस साइटसम्म जाने प्रबन्ध गरिएको समेत मन्त्रालयले जनाएको छ । त्रिशुली र भोटेकोशी नदीमा बाढी आई प्राधिकरणको ठूलो जलधनको क्षति भएको हुँदा सोतर्फ केन्द्रित भई प्राधिकरणले खोज तथा उद्धार एवम् विद्युत आपूर्ति सुचारु गर्नेतर्फ गरिएका मुख्य मुख्य काम कार्वाहीहरु संप्रेषण गर्ने व्यवस्था गरिएको छ ।