१९ भदौ, काठमाडौं । त्रिशूली ३ ए जलविद्युत आयोजना भित्र थुनिएका मानिसहरुको आवाज उद्धार टोलीले सुनेको छ । सांसद श्रीराम न्यौपानेका अनुसार भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको उनले बताए ।
हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उनी उद्धार तथा खोजी कार्यमा संलग्न थिए । आज उनी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छन् ।
उनले भनेका छन्, ‘उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ ।’
