प्याजको मूल्य ५ वर्ष यताकै उच्च, ५ दिनमै ३० रुपैयाँ बढ्यो

काठमाडौं, २९ कात्तिक । प्याजको मूल्य निरन्तर बढ्दो कममा छ । पछिल्लो पाँच दिनमा मात्रै प्याजको मूल्य ३० रुपैयाँले बढ्यो ।

कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार कात्तिक २४ गते प्रतिकेजी १ सय २५ रुपैयाँमा किनबेच भएको प्याजको मूल्य कात्तिक २९ गते प्रतिकेजी १ सय ६० रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा शुक्रबार प्रतिकेजी १० रुपैयाँले बढेको हो। विहिबार प्याज थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि खासै मूल्य बढ्को थिएन।

पाँच वर्ष यताकै उच्च मूल्य

प्याजको मूल्य पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ। २०७२ कात्तिक २१ गते प्याजको खुद्रा मूल्य ७० रुपैयाँ प्रतिकिलो थियो।

२०७३ कात्तिक २१ मा ३५, २०७४ कात्तिक २१ मा ८५ र २०७५ कात्तिक २१ मा ५५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको थियो।

दशैंमा प्रतिकेजी १ सय ४० रुपैयाँसम्म पुगेको प्याजको मूल्य अहिले १ सय ५५ रुपैयाँ काएम भएको छ ।
प्याजको मूल्य अझै केही समय घट्ने सम्भावना देखिएको छैन् ।

नेपालमा प्रयाप्त मात्रामा प्याज उत्पादन नहुनु तथा भारतीय बजारमा पनि प्याजको मूल्यमा वृद्धि भएको कारण प्याजको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।