क्यानको अध्यक्षमा नवराज कुँवर विजयी,सदस्यमा मिश्रित परिणाम

काठमाडौं, ८ मंसिर । सूचना प्रविधि व्यवसायी तथा उद्यमीहरुको संगठन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् ।

शनिबार सम्पन्न मत गणनामा प्रतिस्पर्धी सुनैना पाण्डे‍लाई पछाडि पार्दै कुँवर विजयी भएका हुन् । सदस्यहरुमा संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डे नेतृत्वको प्यानललले जित हात पारेको छ ।

क्यानको निर्वाचनमा मोफसलबाट पहिलो पटक कुँवरले नेतृत्व गर्ने अवसर पाएका छन् । क्यानलाई महासंघको अवधारणामा लैजान कुँवरको योगदान अतुलनीय भएकोले उनका पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए । कुँवरलाई मोफसल र राजधानीका सदस्यहरुले मतदान गरेका थिए ।

उनी २५ वर्षदेखि सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने इमान्दार ब्यवसायी तथा सुचना र प्रविधिका क्षेत्रको सफल लिडर हुन् । कुँवर पक्षसँग क्यानमा लामो समयदेखि काम गरेका, आइटी क्षेत्रमा लामो अनुभव हासिल गरेका बौद्धिक र युवाहरुको बाहुल्यता छ ।

त्यस्तै संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् ।

त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ समेत पाण्डे समुहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ ।

प्रदेश समूहतर्फ गण्डकीमा सुनैना प्यानलका जगन बहादुर गुरुङ र कृष्णप्रसाद पौडेल विजयी भएका छन् भने प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल र भानु शर्मा निर्वाचित भएका छन् । बाँकी अन्य प्रदेशहरुमा यस अघि नै कुँवर प्यानलका उम्मेदवार निर्विरोध भइसकेका छन् ।

जसअनुसार प्रदेश १ मा ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली, प्रदेश २ मा भुपालदास श्रेष्ठ र दीपेन्द्रकुमार सिँह, प्रदेश ५ मा ध्रुबराज शर्मा र रेशम गिरी, कर्णाली प्रदेशमा दलबहादुर खड्का र भिम मल्ल तथा सुदूरपश्चिम प्रदेशमा हर्कबहादुर सेठ्ठी र खेमराज ढुङ्गाना पनि निर्विरोध भइसकेका छन् । व्यक्तिगत साधारण तर्फका सदस्यमा भने मिश्रित परिणाम आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here