भुकम्प पिडितलाई शर्तसहित मौका, पहिलो र दोस्रो किस्ता लिने समय थप

काठमाडौं,१२ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल सम्म अनुदान सम्झौता नगरेकालाई पुस मसान्त सम्म अनुदान सम्झौता गर्न समय थप गरेको छ ।
प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीहरुलाई मध्य नजर गर्दै समय थप गरेको हो ।

तर उक्त थप गरेको समयभित्र अनुदान लिन वा सम्झौता गर्न सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गरेमा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले आवश्यक छानविन गरी जिल्ला पुनर्निर्माण सहजीकरण समितिमा पेश गर्नु पर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । जिल्ला पुनर्निर्माण सहजीकरण समितिले यसरी प्राप्त गरेका विवरण र सिफारिस समेत अध्ययन गरी सम्बन्धित लाभग्राहीबाट आफ्नो आवास तोकिएको समयसीमाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता भएको पाएमा स्थगन गरिएको अनुदान उपलब्ध गराउने छ ।

लाभग्राही कायम भएकाले पहिलो किस्ता २०७६ पुस मसान्तभित्र र दोस्रो किस्ता २०७६ माघ मसान्तसम्म लिइ सक्नु पर्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले यसअघि सयमसीमा तोकी अनुदान सम्झौता गर्न र किस्ता लिन सम्वन्धित लाभग्राहीलाई अनुरोध गरेको थियो ।

प्राधिकरणले एकीकृत बस्ती, बस्ती स्थानान्तरण गर्नु पर्ने, भूमिहीन, जोखिम वर्ग, काठमाडौं उपत्यकाभित्रका लाभग्राही, छुट तथा पुनःजाँच सर्वेक्षणको लगत विश्लेषणबाट कायम हुने लाभग्राहीबारे फरक समयसीमा निर्धारण गरेको छ ।

जसअनुसार २०७६ पुस मसान्तभित्र लाभग्राही कायम गर्ने एवं टुंगो लगाउने, माघ मसान्तसम्म पहिलो किस्ता लिइसक्नु पर्ने, २०७७ बैशाखभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने र असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।

कार्यकारी समितिको निर्णय अनुसार प्रवलीकरणमा परेका लाभग्राहीहरुले समेत अन्तिम किस्ता अनुदान २०७७ असार मसान्तसम्म लिइसक्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here