विजयबाबु स्मृति पत्रकारिता पुरस्कार ध्रुवहरि अधिकारीलाई

काठमाडौं, १२ मंसिर । विजयबाबु स्मृति पत्रकारिता पुरस्कारवरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिने भएको छ ।

स्व. विजयबाबु खत्रीको आठौं स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार अधिकारीलाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार अधिकारीलाई पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

समितिमा प्रेस काउन्सिल सदस्यशुभेच्छा विन्दु तुलाधर र नेपाल समाचार केन्द्रद्वारा प्रकाशित अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य छन् । गत वर्ष मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार मंसिर २४ गते प्रदान गरिनेछ ।

अनलाइन पत्रिका लोकान्तरका अध्यक्ष अधिकारी चार दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् ।२०३४ सालमा ‘लन्डन स्कुल अफ जर्नालिजम’मा पत्रकारितामा डिप्लोमा गरेकाअधिकारीसँग त्यहाँ रहँदा बिबिसी नेपाली सेवामा आउटसाइड कन्ट्रिब्युटरको रुपमा काम गरेको पुरानो अनुभव छ ।

२०३५ सालदेखि गोरखापत्रमा १२ वर्ष पत्रकारिता गर्दा सबै बिटमा रिपोर्टिङ गरेका अधिकारीले पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रिका सबैमा आबद्धता जनाइसकेका छन् । उनी ‘पत्रकारका गुरु’ भनेर चिनिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here