फर्निचरमा बैंक लगानी वृद्धिदर घट्दो, असोजसम्म साढे २१ अर्ब

काठमाडौं १९, मंसिर । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाले फर्निचर र काठ उत्पादन क्षेत्रमा करिब साढे २१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

गत आर्थिको वर्षको सोही अवधिको तुलनामा यो क्षेत्रमा गरेको लगानी करिब साढे ३ प्रतिशतले बढी हो । गत वर्ष यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी ८ प्रतिशतले बढेको थियो ।

पछिल्ला वर्षमा फर्निचर व्यवसाय फस्टाउदै गएपनि गत वर्ष यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर आधाभन्दा बढीले घटेको देखिन्छ ।

सरकारको नीतिगत कडाइले उद्योगी व्यवसायी उत्साहित नहुँदा गत वर्ष यो क्षेत्रमा बैंक कर्जा प्रवाह वृद्धिदर बढ्न नसकेको नेपाल फर्निचर तथा फर्निसिङ महासंघका अध्यक्ष रुपेश प्रधानले जानकारी दिए ।

‘गत वर्ष सरकारले कर नीति, मूल्य अभिवृद्धिदर र भन्सार नीति परिवर्तन गरेको छ,’ प्रधानले भने, ‘यसकारण व्यवसायी अत्तालिएका छन् ।’
सरकारको नीतिगत कडाईले व्यवसायी ‘पर्ख’ र ‘हेर’ को अवस्थामा रहेको उनले बताए । उनले भने, ‘व्यवसायीले थप लगानी विस्तार नै गर्न चाहेका छैनन । पुरानै कर्जामा जसोतसो व्यवसाय चलाएका छन ।’

बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा लगानी विस्तार गर्न चाहे पनि लगानीकर्ता नै उत्साहित नह“ुदा अपेक्षित रुपमा लगानी नबढेको प्रधानले बताए ।

राष्ट्र बैकको तथ्यांक अनुसार मात्र गत वर्ष बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा १ अर्ब ५२ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा गत वर्ष थपिएको कर्जा प्रवाह करिब आधाले कम हो ।

व्यक्तिगत सम्बन्ध र विगतको कारोबारका आधारमा बैंक तथा वित्तीय संस्थाबाट केही सस्तो ब्याजदरमा ऋण सुविधा पाइदै आएको व्यवसायीहरु बताउँछन । सरकार र राष्ट्र बैंकले विभिन्न क्षेत्रमा दिदै आएको पुनर्कर्जा सुविधा निकै थोरै व्यवसायीले मात्र पाएको उनीहरुको गुनासो छ ।

मुलुकमा नागरिकको प्रतिव्यक्ति आय बढेसँगै उपभोग प्रवृति पनि बढेकाले फर्निचर तथा फर्निसिङको माग पनि बढेको छ ।

अहिले फर्निचर तथा फर्निसिङ सामाग्री मानिसका लागि अत्यावश्यक भइसकेको छ । विगतमा जस्तो विलासिताको रुपमा लिनुपर्ने अवस्था अहिले छैन ।

नेपालमा माग अनुसार फर्निचर तथा फर्निसिङ सामाग्री उत्पादन हुन नसक्दा ठूलो परिणाममा आयात गर्नु परेको छ । या क्षेत्रको विकास तथा विस्तारका लागि व्यवसायीले महत्वपूर्ण योगदान पु¥याए पनि सरकारबाट कुनै पनि सुविधा नपाइएको उनले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here