ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस, गैंडासँग नलोभिनुस्ः मन्त्री अर्याल

पोखरा, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बाहिरै देखि मालपोत र नापी सुध्रिएछन भन्ने देखाउनेगरी काम गर्न निर्देशन दिएकी छन् ।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिवार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै उनले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि झल्किनुपर्ने पनि बताएकी छन् ।

जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उनले बताइन् ।

‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त ?’ अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्ने गुनासो आएको छ । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने तर गलत काममा भने साथ नदिने बताइन् ।

काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।

विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिंदै उनले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् । इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’

सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस भन्ने मन्त्रीको अपेक्षा छ । ‘हामीमाथि औंला ठडिएको छ । औंला ठडिएपछि केही न केही फरकपन आउनैपर्छ’, उनले भनिन्, ‘हाम्रो आचरणमाथि प्रश्न उठेको छ । प्रश्न उठेपछि सावधानिपुर्वक कामकारबाहीमा कहीँ प्रश्न नउठोस् भनेर सचेत हुनुस । तपाइहरू संस्कारित बन्दिनुस् ।’

सहभागी गण्डकी प्रदेशभरका भूमि तथा नापी कार्यालयका कर्मचारीलाई सचेत गराउदै मन्त्री अर्यालले मन्त्रालयले नीतिगत रुपमा गरेका परिवर्तन व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुने पनि बताइन् ।

‘हामीले साँच्चिकै कानुनी रुपमा जे कानुन निर्माण गरेका छौं त्यो कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुन्छ । यो कार्यान्वयन गर्ने जिम्मा तपाइहरूको हो । तपाइहरूले बढी मेहनत गर्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।

एकीकृत भुमि ऐन बनाउँदै सरकार

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै उनले त्यसका आधारमा सरकारले अब एकिकृत भूमि ऐन बनाउन लागेको अर्यालले बताइन् । उनका अनुसार सूचनाप्रविधिको अधिकतम प्रयोग गर्दै जनशक्ति कम गर्दै प्रविधिबाट काम गर्नेगरी मन्त्रालय जान खोजेको छ ।

प्रविधिलाई जोड्दा छिटो काम हुने भन्दै उनले त्यसको विकासमा जोड दिन कर्मचारीलाई आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्, ‘अहिले थोरै ठाउँमा सुरू गरेको भएर नमुना कार्यालय हो । अब सबैतिर लागु हुन्छ । अबका मालपोत त नापी कार्यालय प्रविधिमैत्री कार्यालय हुनेछन् ।’

कार्यक्रममा बोल्नै मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि र नापी दुवै जग्गा व्यवस्थापनका निम्ती स्थापना गरिएको भन्दै जनतालाई सुबिधा हुनेगरी समन्वयतात्मक ढंगले काम गर्न आग्रह गरे ।

एउटा कामकेन्द्रित र अर्को मुद्राकेन्द्रित जनशक्ति रहेको भन्दै कामकेन्द्रित भएर काम गर्न उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here