पर्यटन,जलविद्युत, सडक लगायतमा लगानी गर्न अर्थमन्त्रीकोआग्रह

काठमाडौं, १ पुस । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिए ।

अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिदै बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे ।

बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै उनले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गरे ।

राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउँदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताएको अर्थमन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here