नारायणगढ–मुग्लिन सडक अझै दुई हप्ता बन्द हुने

काठमाडौं, ११ पुस । दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणघाट-मुग्लिङ्ग सडक बन्दको समय थप भएको छ ।

पहिरोग्रस्त क्षेत्रका ढुंगा झार्ने काम अझै नसकिएको शुक्रवार सूचना जारी गर्दै पुस २७ गतेसम्मको लागि थप गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

मंसिर २५ गते दुई हप्ताको लागि बन्द गर्ने जनाए पनि शुक्रवार सडक बन्द रहने मिती थप गरेको हो । पहिरो नियन्त्रणको कार्य गर्नको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुँदै आएको छ ।

पहिरो नियन्त्रणको कार्य गर्नको लागि मंसिर २७ गते शुक्रवारदेखि देखि दुई हप्ता बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म बन्द रहने सूचनामा जनाईएको थियो ।

अहिले सडकखण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको छ । रु १४ करोडको लागतमा बज्रगुरु, हिमसगरमाथा न्यू टेक्निकल जेभीले पहिरो रोक्ने कामको जिम्मा पाएका हुन् । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने इञ्जिनीयर खनालले जानकारी दिए ।

काम गर्ने अवधि छ महिना तोकिएको छ तर, यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा सकिने खनालले बताए । अबको एक महिनामा २० प्रतिशत काम हुने खनालको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको हो । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

सडकखण्डअन्तर्गत दासढुङ्गा, खानी र मौरीका तीन वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने जलवीरेको पुल ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी १४ पुलको पनि निर्माणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो सडकखण्ड नेपालको सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here