धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जना सर्टलिस्टमा

जितेन्द्र खनाल

काठमाडौं, ११ पुस । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको लागि पाँच जनाको नाम चयन भएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा बनेको समितिले बोर्ड अध्यक्षका लागि ८ जनाले दिएको आवेदनबाट पाँच जना छनोट गरेको हो ।

छनोटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी, निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारी,नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख सीताराम थपलिया,राष्ट्रिय बिमा कम्पनीका पूर्वसञ्चालक डा.केशवप्रसाद श्रेष्ठ र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुङ्गाना परेका छन् ।

सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको नाम चयन गरेको हो ।

समितिको सदस्यमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन्।

उक्त समितिले अध्यक्षका लागि उपयुक्त तीन व्यक्तिको छनोट गर्ने र उक्त व्यक्तिको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र मन्त्रिपरिषदले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ।

समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्ति दिनेछ ।

सेयर बजारको नियमन गनै निकाय नेपाल धितोपत्र बोर्ड साढे २ महिनादेखि नेतृत्वबिहीन छ। बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पदमा नयाँ व्यक्ति नियुक्तीमा अहिलेसम्म अलमल हुँदै आएको छ।

लामो समयमा अध्यक्ष नहुँदा त्यसको असर पुँजी बजारमा देखिएको भन्दै तुरुन्त नियुक्ति गर्न दबाब दिन थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here