रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने

काठमाडौं, पुस १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसदका सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खडका, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष लगायत सहभागी थिए ।

यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी दिए ।

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।

सांसद पम्फा भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताईन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

त्यसैगरी, बैठकमा बुंगमतीको सार्वजनिक पूर्वाधार एवं सम्पदाहरुको पुनर्निर्माण गर्नका लागि तयार गरिएको अन्य गुरुयोजनाबारे छलफल भएको छ ।

संघीय सांसद भुषालले गुरुयोजनालाई स्वीकार गरी गुरुयोजना अनुसार पुनर्निर्माणको कार्य अघि बढाउन उपर्युक्त हुने धारणा रखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here