वैदेशिक व्यापार: भारतसँग ३ खर्ब १७ अर्बको व्यापार घाटा

काठमाडौं, १६ पुस । आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ ।

आर्थिक वर्षको सुरुवातदेखि नै आयात घटेर निर्यात बढ्दै जाँदा मुलुकको अर्थतन्त्र नै सुधारोन्मुख दिशातर्फ अघि बढेको देखिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब रुपैयाँभन्दा धेरैको बैदेशिक व्यापार गरे पनि गत वर्षको तुलनामा भने घटेको देखिएको छ ।

तथ्याङ्क अनुसार गत वर्षको पहिलो पाँच महिनामा ६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको नेपालले चालु आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ जुन गत वर्षको तुलनामा २.४२ प्रतिशतले थोरै हो ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै पाँच महिनामा चीनबाट १ खर्ब २ अर्ब रुपैयाँको सामान आएकोमा जम्मा ८६ करोड ३२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।

इन्डोनेशियासँग १६ अर्ब ७८ करोड, अरबसँग ८ अर्ब ९८ करोड, अमेरिकासँग ३ अर्ब ३९ करोड र क्यानडासँग ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। नेपालले यस अवधिमा १३७ भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरेको छ।

पाम आयलको हिस्सा धेरै

भन्सार विभिागले सार्वजानिक गरेको पहिलो ५ महिनाको विवरण अनुसार ११ अर्ब रुपैयाँभन्दा धेरैको पाम तेल निर्यात भएको छ । गत वर्षको यसै अवधिमा १ अर्ब ३४ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो ।

विवरणमा सबैभन्दा बढी निर्यात देशमै उत्पादन नहुने पाल्म आयलको भएको छ। गत वर्षको तुलनामा डिजेल, फलाम, एयरक्राफ्ट जस्ता वस्तुहरुको आयात घटेको देखिएको छ । यस अवधिमा ४४ अर्ब ७८ करोड रुपैयाँको आइरन र स्टिल आयात भएको छ भने १४ अर्ब ३७ करोड रुपैयाँको एयरक्रमफ्ट आयात भएको छ।

गत वर्षको यसै अवधिमा ६५ अर्ब ८२ करोड रुपैयाँ बराबरको आइरन स्टिल र १८ अर्ब २६ करोड रुपैयाँ बराबरको एयरक्राफ्ट आयात भएको थियो। त्यस्तै गाडी आयात ३ अर्ब र डिजेल आयात ७ अर्ब रुपैयाँले घटेको छ।

निर्यात २६ दशलमव ९७ प्रतिशत बढ्यो

पाँच महिनामा निर्यात २६ दशलमव ९७ प्रतिशतले बढेको छ । चार महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ । अघिल्लाे आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले जम्मा ३७ अर्ब रुपैयाँ बराबरको सामान मात्रै निर्यात गरेको थियो ।

पाँच महिनामा नेपालको व्यापार घाटा अघिल्लाे वर्षकाे पाँच महिनाको तुलनामा ६ दशमलव ३० प्रतिशतले घटेको छ । नेपालको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आयात निर्यातको अनुपात २४ दशलमव ५८ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here