सुधारोन्मुख व्यापार: दुई महिनामा ११ अर्बको सुन,चाँदी आयात

काठमाडौं, १७ पुस । मुलुकमा चालु आर्थिक वर्ष सुरु भएयता व्यापार घाटा सुधार हुँदै गएको छ। पछिल्ला पाँच महिनामा निर्यात बढ्दै र आयात घट्दै गएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्ला पाँच महिनाको तथ्याङ्‍कअनुसार व्यापार घाटा ६।३ प्रतिशतले घटेको छ।

पछिल्लो पाँच महिनामा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। गत वर्षको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो।

व्यापार घाटा कम गर्न निर्यातमा भएको वृद्धिले सहयोग गरेको छ। विभागका अनुसार पाँच महिनाको अवधिमा मुलुकको समग्र निर्यात २६।९७ प्रतिशतले वृद्धि भएको छ। तथ्यांकअनुसार त्यस अवधिमा ३७ अर्ब ५० करोड रुपैयाँ निर्यात भएकोमा यस वर्ष वृद्धि भएर ४७ अर्ब ६१ करोड रुपैंयाँ पुगेको छ।

पछिल्ला वर्षमा निरन्तर वृद्धि भइरहेको आयातमा यस वर्ष ब्रेक लागेको छ। पाँच महिनाको अवधिमा भएको व्यापारमा ४.२४ प्रतिशतले आयात घटेको छ।

दुई महिनामै करिब ११ अर्ब बराबरको सुन,चाँदी आयत

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई महिनामै करिब ११ अर्ब बराबरको सुन, चाँदी आयत भएको छ । चालू आर्थिक वर्षको असोजसम्म सुन आयात ठप्प रहेकोमा कात्तिक र मंसिरमा ६ अर्ब ७९ करोड ८५ लाख ७१ हजारको सुन आयात भएको हो ।

त्यस्तै, पाँच महिनामा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ । स्विट्जरल्यान्डबाट ३ अर्ब ७० करोड, यूएईबाट ६ करोड, भारतबाट ५ लाख र अमेरिकाबाट १ लाख ६२ हजारको कच्चा चाँदी भित्रिएको छ ।

तथ्यांक अनुसार मंसिरमा मात्रै ४ अर्ब ७ करोड ३४ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । कात्तिकमा २ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँबराबरको सुन भित्रिएको थियो । गत वर्षको पहिलो पाँच महिनामा १४ अर्ब ६५ करोड बराबरको कच्चा सुन आयात भएको थियो ।

तथ्यांकअनुसार करिब ५० करोड मूल्यका सुनका गहनालगायतका सामान भित्रिएको छ । चालू आवको असोजसम्म कच्चा सुन शून्य परिमाणमा आयात भएको थियो भने करिब साढे ६ करोड ५ लाख रुपैयाँबराबरको गहना आयात भएको थियो । जबकि, गत आवको पहिलो तीन महिनामा ७ अर्ब ५६ करोड ११ लाख ५० हजार रुपैयाँबराबरको सुन भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चालू आवको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)बाट ४ अर्ब ६३ करोड, स्विट्जरल्यान्डबाट ५४ करोड ७५ लाख, टर्कीबाट १ अर्ब ६१ करोड रुपैयाँ बराबरको कच्चा सुन आयात भएको छ ।

१३ अर्ब २८ करोडको तरकारीजन्य वस्तु आयात

यस्तै, १३ अर्ब २८ करोडको तरकारीजन्य वस्तु आयात भएको छ भने ४ अर्बको चिया र कफी भित्रिएको छ। २० अर्ब २१ करोडको खाद्यान्न, १३ अर्बको फर्मास्यूटिकल्स, १० अर्बको मल, २२ अर्बको प्लास्टिकजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here