युवाहरुको कोरिया मोह ! भाषा परीक्षाको लागि ९२ हजारको आवेदन

काठमाडौं, १८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीको लागि दक्षिण कोरिया जान लिइने भाषा परीक्षाको लागि ९२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

नेपाली युवाहरुको लागि रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियाले आगामी वर्षको लागि इपिएस प्रणालीमार्फत १० हजार ५० नेपाली कामदार लैजाने गरी कोटा तोकेको छ । तर, भाषा परीक्षाको लागि भने तोकिएको कोटा भन्दा ९ गुना भन्दा बढी आवेदन परेको छ ।

भाषा परीक्षामा सहभागी हुनको लागि चैत ८ गतेदेखि १७ गते राती १२ बजेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । इपिएस विभागका अनुसार तोकिएको समयसम्म ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् ।

यसमध्ये ६३ हजार ४ सय ८७ जनाले औद्योगिक र २८ हजार ८ सय ८९ जनाले कृषि क्षेत्रको लागि आवेदन दिएका छन् ।

आवेदन दिनेको संख्या गत वर्ष भन्दा १० हजारले बढेको छ । गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए ।
भाषा परीक्षा आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा गरी दुई केन्द्रमा सञ्चालन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here