८,८२४ रुपैयाँको बिलमा २ लाख २८ हजार टिप्स !

काठमाडौं । होटल वा रेष्टुरेन्टमा खाना खाएपछि वेटरलाई टिप्स दिनु सामान्य कुरा हो, तर एकजना हलिउड कलाकारले दिएको टिप्सले सबैलाई चकित पारेको छ ।

उनी रेष्टुरेन्टमा दिएको टिप्सको कारण चर्चामा आएका छन् । हलिउड कलाकार तथा गायक डोनी वालबर्गले होटलमा दिएका टिप्सले सबैलाई अचम्ममा पारेका छन् ।

डोनी जनवरी १ मा अभिनेत्रीसमेत रहेकी श्रीमती जेनी म्याकर्थीका साथमा सेन्ट चार्ल्समा रहेको घर नजिकको आइएचओपी रेस्टुरेन्टमा ब्रेकफास्टका लागि गएका थिए । उनीहरुले ७८.४५ अमेरिकी डलर बराबरको ब्रेकफास्ट गरे ।

डोनी वालबर्गले नयाँ वर्ष मनाउने क्रममा एउटा रेष्टुरेन्टका वेटरलाई दिएको टिपको विषय र उनले दिएको विलको फोटो सामाजिक सञ्जालहरुमा भाईरल भईरहेको छ ।

डोनीले नयाँ वर्षमा एक रेष्टुरेन्टमा खाना खाएपछि आएको ८,८२४ नेपाली रुपैयाँको विलमा २ लाख २८ हजार रुपैयाँ थपेर टिप दिएका थिए ।

उनकी श्रीमती जेनीले त्यो विल र टिप्स दिएको रकमको फोटो सामाजिक सञ्जाल टुईटरमा शेयर गरेपछि यो विषयले चर्चा पाएको थियो ।

श्रीमती जेनीले क्रेडिट कार्डको रिसिप्टसहित ‘डोनी वाह्लबर्ग स्टार्टिङ्ग २०२० अफ लाइक द अमेजिङ्ग म्यान ही इज’ लेखेर ट्वीट गरेकी छन् । डोनीले सो टिप्स छोड्दा आफैले रिसिप्टमा ‘थ्यांक्स बेथनी’ पनि लेखेका छन् ।

यस्तै ‘२०२० टिप च्यालेन्ज’ र ‘ह्याप्पी न्यू इअर’ पनि उनले लेखेका थिए । त्यसपछि टिप च्यालेन्ज नै चल्यो । थन्डर बे रिभर रेस्टुरेन्टका कर्मचारीले २३ डलरको बिलका लागि दुई हजार २० अमेरिकी डलर टिप्स पाए ।

डोनीले दिएको टिप्स आइएचओपीका कर्मचारी बेथनी प्रोवेन्चरले पाएका हुन् । उनले आफू बाल्यकालदेखि फ्यान रहेको व्यक्तिबाट यस्तो उपहार पाउँदा अति नै खुशी भएको बताएका छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here