कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोरको १० भित्र

काठमाडौं, २३ पुस । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०१ औं स्थानमा परेको छ ।

‘हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको ’ को सूचीको नेपाल तीन स्थान तल झर्दै १०१ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९८ औं स्थानमा रहेको थियो ।

यस पटक पनि पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ ।

जापानी पासपोर्ट वाहकले विश्वका १९१ वटा देशमा विना भिसा वा पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर परेको छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९० देशमा अन अराईभल भिसा पाउँदै आएका छन् ।

तेस्रो स्थानमा परेका जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १८९ स्कोरसहित विश्वका तेश्रो शक्तिशाली पासपोर्ट भएका छन् ।

टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । इटाली र फिनल्याण्ड चौथो नम्बरमा छन् भने स्पेन, लक्जेम्बर्ग र डेनमार्क पाँचौं नम्बरमा छन् ।

त्यस्तै स्वीडेन र फ्रान्स छैठौं नम्बरमा छन् । सातौं नम्बरमा भने स्वीटजरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, आयरल्याण्ड र अष्ट्रिया रहेका छन् । अमेरिका र बेलायतको पासपोर्ट आठौं नम्बरमा छन् ।

नवौं नम्बरमा न्युजिल्याण्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अष्ट्र्रलियाका पासपोर्ट छन् भने दशौं नम्बरमा स्लोभाकिया, लिथुआनिया र हंगेरीका पासपोर्ट छन् ।

सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ८५ औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ५८ देशहरुमा यात्रा गर्न सकिन्छ । पाकिस्तान १०४औं स्थानमा रहँदा छिमेकी चीन ७२ औं स्थानमा रहेको छ । चीनको राहदानीले विश्वका ७१ देशमा यात्रा गर्न सकिन्छ ।

विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ ।

कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, सोमालिया र पाकिस्तान चौथो, यमन पाँचौं, लिबिया छैठौं, नेपाल र प्यालेस्टाइन सातौं, नर्थ कोरिया र सुडान आठौं नम्बरमा परेका छन् ।

हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ (सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा) भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।

जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here