अल्फाबेटको ट्रिलियन डलर कम्पनीमा प्रवेश, चारमा तीन अमेरिकी कम्पनी

न्यूयोर्क, ३ माघ । गूगलको माउ कम्पनी अल्फाबेटले नयाँ उपलब्धी हासिल गरेको छ । बिहीबार शेयरबजारमा कम्पनीको बजारीकरण १ ट्रिलियन डलर पुगे पनि अल्फाबेट ट्रिलियन डलर कम्पनीको क्लबमा प्रवेश गरेको हो ।

ट्रिलियन डलरको सीमा पार गर्ने अल्फाबेट चौथो कम्पनी हो । हालसम्म सो क्लबमा दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र एप्पल र साउदी सरकारको कम्पनी अराम्को मात्र थिए ।

प्रविधि तथा इण्टरनेट कम्पनी अल्फाबेटको कुल सम्पत्ति १.३ ट्रिलियन डलर पुगेको छ ।
एप्पलको बजार मूल्य १.३८ ट्रिलियन डलर र माइक्रोसफ्टको १.२७ ट्रिलियन डलर पुगेको छ ।

तर, संसारको सबैभन्दा ठूलो कम्पनी भने साउदी तेल कम्पनी अराम्को हो । गत महिना मात्र शेयर जारी गरेको सो कम्पनीको मूल्य १.८ ट्रिलियन डलर छ । १ ट्रिलियन भनेको १० खर्ब बराबर हुन्छ जसको आधारमा अराम्कोको बजारमूल्य १८ खर्ब डलर अर्थात करीब २ हजार खर्ब रुपैयाँबराबर रहेको छ ।

तुलना गरेर हेर्ने हो भने अराम्कोको बजार मूल्य भारतीय अर्थतन्त्रको करीब दुईतिहाई बराबर हुन आउँछ । सन् २०१९ मा भारतको अर्थतन्त्र २.९४ ट्रिलियन डलर छ । नेपालको अर्थतन्त्रको आकार भने करीब ३० अर्ब डलर मात्र हो ।

अर्को प्रविधि कम्पनी अमेजन डट कम गत वर्ष केही समयका लागि ट्रिलियन डलर क्लबमा प्रवेश गरेको थियो । तर अहिले यसको मूल्य ९३१ अर्ब डलर रहेको छ ।
त्यस्तै, फेसबूकको मूल्य ६३२.९ अर्ब डलर छ भने बर्कसायर हाथवे ५५९ अर्ब डलरसहित छैठौं स्थानमा छ । ट्रिलियन डलर क्लबमा प्रवेश गर्न अमेजनले आफ्नो मूल्यमा ७ प्रतिशतको वृद्धि गर्नु पर्ने हुन्छ ।

ट्रिलियन डलर क्लबका चार कम्पनीले वालस्ट्रिटलाई समेत दिशा दिने हैसियत राख्छन् भने स्ट्याण्डर्ड एण्ड पुअरमा १५ प्रतिशतभन्दा बढी हिस्सा राख्छन् ।
अल्फाबेटसँग गूगल, एण्ड्रोइड, युट्युब, म्याप्स, क्यापिटल, हेल्थ डिभाइसलगायतका प्रडक्ट रहेका छन् ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here