फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध नगरौं : ओली

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन् ।

‘विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको छ,’ बुधवार राष्ट्रिय विकास परिषदको बैठक उद्घाटन गर्दै उनले भने ।

जनताले बहुमत दिएर पठाएको सरकारले विकासमा स्पष्ट नीति लिने र तिनै नीतिहरुको आधारमा योजना बनाइ र कार्यान्वयन गरिने प्रधानमन्त्रीले बताए । नेपालको विकासको प्रयासलाई साथ सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक भएको उनले बताएका छन् ।

उनका अनुसार हालै सम्पन्न लगानी सम्मेलनमा छिमेकी देशका लगानीकर्ताहरुको उत्साहपूर्वक सहभागिताले त्यसै कुराको संकेत गरेको छ । ‘हाम्रा विकासका प्रयासलाई साथ सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक छ । लगानी सम्मेलनले यसलाई स्पष्ट पारेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

भौतिक विकास, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा महत्वकांक्षी योजना कार्यान्वयन गरेर देशलाई अघि बढाइनु पर्ने उनको भनाइ छ ।

नयाँ कुराको अभिव्यक्तिले पनि मानिसको सोचाइमा परिर्वतन आउने प्रधानमन्त्री ओलीले बताए । कोशी नदीमा स्टिमर चल्नु त्यसकै एउटा उदाहरण भएको उनको भनाइ छ ।

त्यसैगरी कृषिमा यान्त्रिकिकरण गरेर उत्पादकत्व बढाउने सरकारको नीति रहेको पनि उलने बताए । ‘कृषिमा यान्त्रिकिकरण गर्दा कसैको रोजगारी खोसिदैन । बरु यसले रोजगारीका नयाँ अवसर सृजना गर्दछ । त्यसैले आधुनिकताले रोजगारी खोसिने नभइ रोजगारीको रुपान्तरण चाँही हुने हो ।’

सन्तुलित विकासका लागि तिनै तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘विकासका लागि दलहरु बीच समझदारी र एकता आवश्वयक छ । फेद न टुप्पोको विरोध गरेर देश विकासमा अवरोध गर्नु उचित हुदैन,’ प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रिय विकास परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले १५ औं योजनाले पाँच बर्षको विकासको योजना मात्र प्रस्तुत गरेको नभइ यस सताब्दीको अन्त्यसम्ममा नेपालको विकासको प्रारुप तयार गरेको स्पष्ट पारेका छन् । उनका अनुसार यस योजनाले विं सं २०९९ सम्ममा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाका दिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औं पञ्चबर्षीय योजना (२०७६÷०७७ –२०८०÷८१ )को प्रस्तावित आधार पत्रलाई पारित गर्न राष्ट्रिय योजना आयोगले बैठक आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here