उखु किसानको पैसा नतिर्ने व्यवसायीको खाता रोक्का, कुन मिलले कति तिर्न बाँकी ?

काठमाडौं, ८ माघ । उखु किसानको भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकको आर्थिक कारोबार रोक्का हुने भएको छ । मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीको बैंक खाता रोक्का गर्न पत्रचार गरेको छ ।

अन्नपूर्ण, इन्दिरा र लुम्बिनी मिलको खाता रोक्का गर्न पत्राचार गरिएको छ, मन्त्रालयको सम्पर्कमा नरहेका उद्योगीहरुलाई सम्पर्कमा ल्याइदिन गृह मन्त्रालयलाई पनि पत्र पठाइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले बताए ।

उनले भने–‘सम्पर्कमा नरहेका उद्योगीलाई समातेर ल्याउन पत्राचार गरिएको छ ।’ सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थिए ।

तर माघ ७ को भाका कटेपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । अन्नपूर्ण र इन्दिरा चिनी मिलले ४२ करोड रुपैयाँ तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये तीन करोड ९० लाख ५ गतेसम्म भुक्तानी गरिसकेको छ भने मंगलबारसम्म ७४ लाख तिरेको मौखिक जानकारी गराइएको थियो ।

मन्त्रालयका अनुसार अन्य १० वटा चिनी मिलबाट लगभग १ अर्ब बक्यौता रकम उठ्न बाँकी छ । महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख, अन्नपूर्ण मिलको २६ करोड १० लाख तिर्न बाँकी रहेको छ ।

त्यस्तै श्रीराम सुगर मिलको २६ करोड, ७७ लाख, इन्दिरा सुगर मिलको १० करोड ४८ लाख, बाबा बैजुनाथ मिलको २५ लाख ५६ हजार, लुम्बिनी चिनी मिलको १० करोड ७४ लाख, महाकालीको ६२ हजार, रिलाइन्स मिलको ११ लाख ५३ हजार, एभरेस्टको ७ करोड ३९ लाख र वाग्मती खाडसारीको ६ करोड ७५ लाख गरी करिब १ अर्ब रकम बक्यौता तिर्न बाँकी छ ।

लुम्बिनी चिनी मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा छैनन् । बाबा बैजनाथ चिनी मिल र महालक्ष्मी चिनी मिल पनि सम्पर्कमा आएका छैनन् । उनीहरुका सञ्चालकलाई पनि पक्राउ गरेर ल्याउन उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

यता हिमालय, इन्दु शंकर, इष्टर्न, रिलायन्स र भागेश्वर चिनी मिलले भने सरकारको ताकेतापछि बाँकी रहेको रकम भुक्तानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here