उपत्यकामा ट्राफिक लाइट, सुरक्षित बन्दैछ सडक यात्रा

काठमाडौं, ११ माघ । काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै पैदलयात्रुसहित सडक प्रयोगकर्ताले सुरक्षित महसुश गर्न थालेका छन् ।

‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछाडमछाड गर्दा पैदलयात्रुलाई ठक्कर दिने घटनामा कमी आउन थालेको छ ।

ट्राफिक प्रहरीले चोकचोकमा हातको इसारामा सवारीसाधन नियन्त्रण गर्नुपर्ने बाध्यता समेत हट्न थालेको छ ।

चालकले पनि पैदलयात्रुले जथाभावी सडक पार गर्दा सवारी चलाउन कठिन भएको गुनासो गर्दै आएका थिए । काठमाडौंमा दुई दशकदेखि ट्याक्सी चलाउँदै आएका श्याम तामाङ ट्राफिक बत्तीले पैदलयात्रु र चालकको व्यवहारमा परिवर्तन आउन थालेको अनुभव सुनाए ।

जेब्राक्रसिङ नजिकै भए पनि त्यहाँबाट नभएर यात्रु आफूलाई पायक पर्ने ठाउँबाटै सडक पार गर्दै आएको उनको भनाई छ ।

जेब्राक्रसिङबाट समूहमा नभएर एक्लाएक्लै पार गर्दा सवारीसाधन चलाउनै कठिन हुने चालकको भनाइ छ । बत्ती भएका चोकमा हरियो बल्दा यात्रु छन् कि भनी नडराई चलाउन सकिएको तामाङको भनाइ थियो ।

उपत्यकाका केही चोकमा मात्रै सडक बत्ती बलेको हो । जडान भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरु गरेको थियो ।

अहिले कतिपय स्थानमा जडान भइसकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

चोक तथा जेब्राक्रसिङमा अहिलेसम्म १२ स्थानमा बत्ती जडान भइसकेको छ । तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सिंहदरबार, बागबजार, पद्मोदयमोड र ललितपुरको महापाल चोकमा बत्ती जडान भएर प्रयोगमा आइसकेको छ । भक्तपुरको ठिमी र सूर्यविनायक चोकमा जडान भइसकेको छ ।

भक्तपुरका तीन स्थान, ललितपुर र काठमाडौँका आवश्यक स्थानमा बत्ती विस्तार गरिने थपलियाले जानकारी दिए ।

दोस्रो चरणमा भक्तपुरको गठ्ठाघर, कौशलटार र सल्लाघारीमा बत्ती जडान हुनेछ । काठमाडौँको नयाँ सडक, पुतलीसडक, सोल्टीमोड, शिक्षण अस्पताललगायतका स्थानमा जडानको तयारी भएको छ ।

दुई दशक पहिले जडान भएर पनि सञ्चालनमा नआएको थापाथली, माइतीघर, कोटेश्वलगायतका स्थानमा मर्मतको तयारी शुरु गरिएको छ ।

कुनै एउटा बत्ती बल्दा बढीमा ९९ सेकेण्ड र घटीमा १६ सेकेण्डसम्म बल्नेछ । कुन समयमा कतातर्फ जाने सवारीसाधनको चाप बढी हुन्छ भन्ने आधारमा बत्तीको समय निर्धारण गरिएको छ ।

तीनतीन घण्टाको अवधिमा बत्तीको समयावधि परिवर्तन हुनेछ । बिहान नौ देखि १२, १२ देखि तीन र तीनदेखि साँझ ६ बजेसम्म फरक फरक अवधि राखिएको छ ।

बिहानमा सिंहदरबारलगायतका भित्री भागमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र अपराह्नपछि भित्री भागबाट बाहिरिनेको सङ्ख्या बढी हुन्छ ।

सडक बत्तीले सडक प्रयोगकर्तालाई सहज बनाएको भए पनि उनीहरुको व्यवहारमा परिवर्तन आउन बाँकी रहेको थपलियाले बताए ।

पहिले चोकका बीचमा बसेर हातले इसारा गर्ने ट्राफिक प्रहरी हिजोआज जेब्राक्रसिङमा बसेर यात्रुलाई बत्तीको बारेमा बुझाइरहेको देख्न सकिन्छ ।

उपत्यकामा विसं २०२७\२८ तिर दरबारमार्गमा पहिलो ट्राफिक बत्ती शुरु भएको थियो । त्यसपछि विसं २०५८ मा जापान सरकारको सहयोगमा विभिन्न चोकमा जडान भएका थिए ।

तीमध्ये कुनै पनि अहिले काम गर्ने हालतका छैनन् । ललितपुर महानगरपालिकाले गत वर्ष पुल्चोक चोकमा नागरिक–निजी साझेदारी (पिपिपी) मोडलबाट उक्त कार्यक्रम शुरु गरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here