‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’

काठमाडौं, २० माघ । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ जारी गरेको छ ।

कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित कर्जा प्राप्तांकका आधारमा यो योजना ल्याएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १० प्रतिशत ब्याजदरमा यो कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

यो योजना देशका सातै प्रदेशमा लैजाने अभियानका क्रममा यो कर्जा गत डिसेम्बरमा प्रदेश ३ को काठमाडौंबाट शुभारम्भ गरिएको थियो । उक्त नयाँ एसएमई कर्जा प्रदेश ५ को भैरहवामा पनि विस्तार गरिएको छ ।

सिद्घार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू तथा तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष रामचन्द्र पाण्डेले उद्घाटन गरे ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो योजना देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरूको अवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको बताए ।

यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकले जनाएको छ ।

यो योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको बैंकले जनाएको छ ।

नबिल बैंकको १०२ शाखा, १४३ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here