प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली

काठमाडौं, २८ माघ । नेपाल प्रहरीको महानिरीक्षक ठाकुर ज्ञवाली बनेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई बढुवा गर्दै आईजीपीमा नियुक्त गरेको हो ।

हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन एआईजी र १७ डीआईजी ३० वर्षे सेवाअवधिका कारण मंगलबार रातिबाट अवकाश पाउँदैछन् ।

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नेतृत्व सुम्पेसँगै उनले करिब ५ महिना नेपाल प्रहरीको सर्बोच्च पद आईजीपीका रुपमा नेतृत्व सम्हाल्नेछन् ।

उनले सेवाअवधिका कारण आउदो असारको अन्तिम साता अनिवार्य अवकाश पाउनेछन् ।

प्रहरी नियमावली संसोधन गरेर ३० वर्षे सेवाअवधि हटाउदा आईजीपी खनालको पदावधि लम्बिने र एआईजी पुष्कर कार्की पनि आईजीपी हुने चर्चा थियो ।

तर तत्काल नियमावली संसोधन गर्दा बढुवामा जाम हुने भन्दै बढुवाको मुखमा रहेका बरिष्ठ अधिकारीहरुले असन्तुष्टि जनाएपछि नियमावली संसोधनको प्रकृया अगाडी बढाएको गृहमन्त्रालयले यो प्रकृयालाई स्थगित गर्न पुगेको थियो ।

यसरी सेवाबाट अवकाश पाउनेमा एआइजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक (एआईजी) हरूबाट गर्नुपर्ने उल्लेख छ । तर एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाटै आईजीपी नियुक्ति गर्न सकिनेछ ।

डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन-परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here