गाँजा सेवनले दिमाग दोब्बर भ्रमित, स्मरणशक्तिमा असर !

काठमाडौं । विकसित मुलुकहरू प्रतिबन्धित लागूऔषध गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर धमाधम ‘गाँजा–युग’ मा फर्किरहेका छन् ।

नेपालमा पनि यसलाई खुला गर्नुपर्ने बहस शुरू भएको छ । बेलाबेला गाँजा खेतीलाई वैधता प्रदान गर्नेबारे बहस चल्ने गर्छ। गाँजामाथिको प्रतिबन्ध कायमै रहँदा पनि गाँजाबाट निर्मित पतञ्जलिका उत्पादन नेपालमा भित्रिन रोकिएको छैनन् ।

नेपाली सुपरमार्केटमा चीनबाटै भित्रिएको भाङ्गोको दाना पनि निर्बाध बिक्री भइरहेको छ, जुन कानूनतः नेपालमा उत्पादन र बिक्री–वितरण गर्न प्रतिबन्धित छ ।

तर, भन्सार तिरेर भित्रिएका ती सामग्रीमा कुनै रोकतोक छैन । गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षधरहरू यो प्रतिबन्धले नेपालीलाई आर्थिक लाभ लिने बाटो समेत छेकेको बताउँछन् ।

विभिन्न अध्ययनको निचोडलाई मान्ने हो भने, गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रकै मेरुदण्ड थियो ।

अध्ययनहरूका अनुसार, गाँजामाथिको प्रतिबन्ध यति डरलाग्दो बन्यो, जसले बढाएको गरीबी र अभावले देशमा दशक लामो हिंसात्मक विद्रोहलाई उभिने आधारभूमि र मलजल प्रदान गर्‍यो ।

गाँजामाथि प्रतिबन्ध लाग्नुभन्दा पहिले नेपालमा हेरोइन जस्ता कडा लागूऔषध नै नभएको विज्ञहरुको दावी छ । अहिले एक लाखभन्दा बढी नेपाली हेरोइनको दुर्व्यसनमा छन् ।

गाँजाको सेवन मुख्यतया दुईथरी हुने गर्छ– औषधिजन्य र मनोरञ्जनका लागि गाँजा स्वास्थ्यका लागि लाभदायक हसने बताएपनि अमेरिकामा गरिएको एक अध्ययनले विपरीत नतिजा देखाएको छ।

प्रकाशित एक अध्ययन प्रतिवेद अनुसार गाँजाको नियमीत सेवनले स्मरणशक्तिमा प्रतिकूल असर पर्ने बताएको छ।

सोधमा संलग्न मास्ट्रिच्ट युनिभर्सिटी नेदरल्याण्डका प्राध्यापक जोहानेस रामेकर्सका अनुसार, एक सर्को गाँजा सेवन गर्दा दिमाग दोब्बर भ्रमित हुन्छ।

अध्ययनका अनुसार, गाँजा सेवन गरेको मान्छेहरू सजिलै भ्रमित हुन्छन्। यसलाई वैज्ञानिकहरूले ‘मिसइन्फर्मेसन इफेक्ट’ भनेका छन्।

यसको अर्थ हो, गाँजा पिएको मान्छेको स्मृतिमा नशामा भएका बेला घटेका घटनाबारे गलत सूचनाहरू संग्रहित भएका हुन्छन्।

सेवनकर्ता यति भ्रमित हुन्छ कि, अर्काले सुनाएका कुरा पनि उसलाई आफैँले भोगे झैं भान हुन्छ। झुटो कुरा पनि साँचो प्रतीत हुन्छ।

‘अमेरिकामा एकपछि अर्को राज्यले गाँजालाई वैधता प्रदान गरिरहेका बेला प्रकाशित यो रिपोर्टले निकै अर्थ राख्छ’, अर्की सोधकर्ता एलिजाबेथ लोफ्टसले भनिन्, ‘खासगरी आपराधिक घटनाहरू बढाउन यसले ठूलो भूमिका खेल्ने देखिन्छ।’

एलिजाबेथ क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत् मनोविज्ञान विषयकी प्राध्यापक हुन् । भन्छिन्, ‘अनुसन्धान अधिकारीहरूका लागि पनि यो अध्ययन कामलाग्दो छ। नशाको अवस्थामा भएका व्यक्तिहरूसँग सोधपुछ गर्दा प्राप्त हुने सूचना भ्रामक हुनसक्ने रिपोर्टले देखाएको छ।’

नेपालमा कुनै बेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो ।

आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ ।

बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो बेला गाँजाकै प्रयोग गरिन्थ्यो । तर, गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here