बिजुलीको नयाँ महशुलदर तोक्ने तयारी, १० युनिटसम्म निःशुल्क !

काठमाडौं, ७ फागुन । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको नयाँ महशुल तोक्ने तयारी थालेको छ ।

उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरेको हो । पहिलोपटक बढीभन्दा बढी बिजुली उपयोग गराउने रणनीति बनाएर महशुल दर प्रस्तावमा प्राधिकरण पुगेको हो ।

तीन वर्ष अगाडिसम्म कसरी कम बिजुली खपत गर्ने भन्ने चिन्तामा रहेको थियो । साना उपभोक्तालाई १० युनिटसम्म निःशुल्क गरेर ११ युनिटदेखि माथि नयाँ महशुल तोक्ने तयारी रहेको स्रोतले जनाएको छ ।

थ्रि-फेज र सामुदायिक खानेपानी आयोजनाहरुको विद्युत महशुलदर पनि घटाउन प्रस्ताव गरिएको छ ।

हाल डेडिकेटेड लाइनमा ६५ प्रतिशतसम्म अतिरित्त शुल्क लिंदै आएकोमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने प्रस्ताव प्राधिकरणको छ ।

हाल प्राधिकरणले ५, १५, ३० र ६० एम्पियरको वर्गमा ग्राहकलाई विभाजन गरेर त्यसमा ७ वटा स्ल्याब राखी महशुल उठाउँदै आएको छ । अहिले २८ किसिमबाट मूल्य हिसाव गरेर बिलिङ गरिन्छ ।

आयोगले नयाँ महसुल शुल्कको बारेमा सार्वजनिक सुनुवाइ गर्ने तयारी पनि गरेको छ । नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि वैशाखसम्म तथा दिउँसो, साँझ र रातिमा फरक–फरक शुल्कसहितको महसुल दर प्रस्ताव गरेर विद्युत् नियमन आयोगमा पठाएको छ ।

प्राधिकरणले सार्वजनिक विद्युतीय सवारी साधनलाई सहुलियत मूल्यमा बिजुली दिन प्रस्ताव गरेको छ । यस्तै सिँचाइ र कृषि उकपरण चलाउँदा पनि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने लगायतका विभिन्न शीर्षकअनुसारको महसुल दर उल्लेख छ ।

आयोगले सूचना निकालेर विद्युत् प्राधिकरणले प्रस्ताव गरेको शुल्क आयोगको वेबसाइट http://erc.gov.np/consumertariff/erc/ मा राखिएकाले अध्ययन गरेर info@erc.gov.np मा सुझाव पठाउन आग्रह गरेको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here