विद्युतीय गाडी चार्ज गर्दा छुट्टाछुट्टै शुल्क, कुनको कति ?

काठमाडौं, ९ फागुन । विद्युतीय सवारीसाधन चार्ज गर्दा निजी र सार्वजनिक सवारीले छुट्टाछुट्टै शुल्क तिर्नु पर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशनबाट सवारीसाधन चार्ज गर्दा लाग्ने छुट्टाछुट्टै महसुल निर्धारण गरेको छ ।

प्राधिकरण आफ्नै मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गर्दैछ । प्राधिकरणले आफै पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि यो सञ्चालनमा ल्याइसकेकाले यसका लागि विद्युत् महसुल निर्धारण गरेको हो ।

हाल विद्युतीय सवारी विक्री गर्न केही कम्पनी र निजीक्षेत्रको सुन्दर यातायातले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् । तर यस्ता चार्जिङ स्टेशनमा सवारीसाधन चार्ज गर्दा लाग्ने महसुल कसरी उठाउने भन्ने विषयमा नीतिगत प्रावधान भने थिएन ।

अहिले निजीक्षेत्रको सुन्दर यातायात प्रालिले निजी प्रायोजनका लागि काठमाडौंमा दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीले प्रतियुनिट १० रुपैयाँ ५० पैसाको दरले प्राधिकरणलाई शुल्क बुझाउँदै आएको छ ।

प्रस्तावित महसुलअनुसार साँझ ५ बजेदेखि राती ११ बजेभित्र गाडी चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ४० पैसादेखि ११ रुपैयाँ ७० पैसा शुल्क लाग्नेछ ।

यस्तै राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि प्रतियुनिट ४ रुपैयाँ ४५ पैसादेखि १० रुपैयाँ ३० पैसा सम्म शुल्क लाग्नेछ ।

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेभित्र गाडी चार्ज गर्दा प्रतियुनिट ६ रुपैयाँ ६० पैसादेखि १० रुपैयाँ ३० पैसासम्म लाग्नेछ ।

यस्तै वैशाखदेखि मंसिरसम्म २ सय ४० देखि ४ सय भोल्टसम्मका ग्राहकले बेलुकी ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ ७० पैसा, राती ११ देखि विहान ५ बजेसम्म ५ रुपैयाँ १५ पैसा र विहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ ३० पैसा प्रतियुनिट तिर्नुपर्नेछ ।

पुसदेखि चैतसम्म फरक शुल्क

पुसदेखि चैतसम्मको शुल्क फरक छ । पुसदेखि चैतसम्म निजी विद्युतीय सवारीलाई साँझ ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ २० पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म र राती ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ

६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म प्रतियुनिट शुल्क तोकिएको छ । सार्वजनिक रुपमा चल्ने विद्युतीय यातायातको लागि पनि सस्तो शुल्कको व्यवस्था गरिएको छ ।

वैशाखदेखि मंसिरसम्मको समयमा सार्वजनिक यातायात चार्ज गर्दा न्युनतम ४ रुपैयाँ ४५ पैसादेखि अधिकतम ८ रुपैयाँ ७० पैसा प्रतियुनिट महसुल तोकिएको छ ।

बेलुकी ५ देखि ११ बजेसम्म चार्ज गर्दा ८ रुपैयाँ ७० पैसा र राती ११ देखि विहान ५ बजेसम्म चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा प्रतियुनिट शुल्क लाग्नेछ ।
पुसदेखि चैतसम्म सार्वजनिक विद्युतीय गाडीले भने सस्तोमा बिजुली पाउनेछन् ।

पुसदेखि चैतसम्मको समयमा साँझ ५ बजेदेखि राती ११ बजेसम्म न्युनतम ८ रुपैयाँ ४० पैसादेखि ८ रुपैयाँ ७० पैसा तिर्नुपर्नेछ । राति ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म तिर्नुपर्नेछ ।

३३ केभीका प्रयोगकर्ताले साँझ ५ देखि राति ११ बजेसम्म प्रतियुनिट ११ रुपैयाँ २० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ १० पैसा महसुल तिर्नुपर्नेछ ।

११ केभीका ग्राहकले साँझ ५ देखि राति ११ बजेसम्म ११ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा, र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ २० पैसा प्रतियुनिटका दरले महसुल तिर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here