सुनको व्यापार ठप्प, जलप लगाएको गहनामा उपभोक्ताको आर्कषण

जितेन्द्र खनाल

काठमाडौं, ११ फागुन । केही समययता अस्वाभाविक रुपमा सुनको मूल्य वृद्धि भएसँगै बजारमा सुनको व्यापार लगभग ठप्प जस्तै भएको छ ।

प्राय सधैं हतारमा रहिरहने न्यूरोड स्थित गहना पसलका व्यापारीहरु फुर्सदिला देखिन्छन्।

आइतवार दिउसो साढे १२ बजेतिर न्यूरोडका सुन पसलहरुमा पुग्दा पसलहरु प्राय खाली नै देखिन्थे । केही पसलमा भएका उपभोक्तहरुपनि विवाहको लागि अत्ति आवश्यक भएर गहना किन्न आउनेहरु थिए ।

आइतवार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८०० रुपैयाँमा कारोबार भयो भने तेजावी सुन ७८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भयो । यो मूल्य नेपाली बजारमा हालसम्म कायम भएको सुनको मूल्यमा सबैभन्दा धेरै हो ।

सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विगत केही हप्ताको फरकमै सुनको मूल्यमा यतिधेरै वृद्धि भएको हो ।

किन बढ्यो त अस्वभाविक रुपमा सुनको भाउ ?

सन् २०१९ को अन्त्यतिरबाट चीनको बुहान राज्यमा फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रलाई नै असर परिहेको छ । यसमा सुनपनि अछुतो रहन सकेन । जसको कारण सुनको मूल्य दिन प्रतिदिन बढ्दो क्रममा छ ।

कोरोनाको प्रभावका साथै केही समय अघिदेखि चलिरहेको विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन विचको व्यापारिक युद्धको कारण र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएको कारण पनि नेपाली बजारमा सुनको भाउ बढेको कुरा नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन सुनार बताउँछन् ।

उनी भन्छन्, ‘अमेरिका–चीनबीच निकै समयदेखि व्यापार युद्ध रहिरहेको छ, यसैमाथि चीनबाट फैलीएको कोरोना भाइरसको प्रभाव विश्व अर्थतन्त्रमा परेको छ । अमेरिकी डलरको भाउ बढिरहेको छ भने नपाली मुद्रा कमजोर भईरहेको छ । यस सन्दर्भमा सुनको भाउ बढ्नु स्वभाविक हो ।’

सुनको मुल्य अझै बढ्नसक्से मेत उनले बताए ।

विहे लक्षित गहना किन्नेहरु मारमा

फागुन महिना हिन्दू धर्म मान्ने मानिसहरुको लागि विहे गर्ने सबैभन्दा राम्रो लगन भएको महिना मानिन्छ । यस महिनामा विहेको लगन पनि धेरै रहेको छ ।

अहिलेको समयमा बिहे र सुनका गहनालाई जेपालीहरुले एक अर्काको परिपुरक बनाईसकेका छन् । यस अर्थमा पैसा भएर होस् ना नभएर बिहेमा सकेसम्म धेरै गहना किन्न खोज्छन् ।

त्यसकारण बिहेको लागि गहनमा किन्ने मानिसहरु सबैभन्दा धेरै पिडामा परेका छन् । अहिलेको समयमा ५ तोला सुन मात्रै किन्दापनि ४ लाखभन्दा धेरै खर्च हुने देखिन्छ ।

विहेको लगन धेरै भएपनि बजारमा सुनको मूल्य अस्वभाविक रुपमा बढेपनि व्यापार नहुँदा व्यापारीहरु चिन्तित छन् ।

काठमाडौंको न्यूरोडमा विगत ५ वर्षदेखि अर्जुन ज्वेलर्स चलाउँदै आएका व्यवसायी अर्जुन शाह सुनको मूल्य अस्वभाविक रुपमा बढेपछि मान्छेहरुले सुन किन्नै छाडेको बताउँछन् ।

‘साच्चै भन्ने हो भने त मानिसहरुले सुन किन्ने छाडिसके’ उनले भने, ‘मानिसहरु विहेमा पनि अहिले महङ्गो छ । त्यसकारण धेरै गहना नकिनौं पछि सस्तो भएपनि किनौंला भनेर अहिले काम चलाउनको लागि मात्रै किन्ने गर्छन् ।’

न्यूरोडकै समृद्धि ज्वेलर्सका अर्का सुन व्यवसायी रोहित संग्रौलाको भने सुनको व्यापार कम हुनुमा फरक मत छ ।

उनले भने, ‘तपाईं आफै भन्नुन सुनको मूल्य यतिधेरै बढेको छ यस्तो अवस्थामा कसले गहना किन्छ ?

सस्तो भएको भए पनि यही मौकामा किनेर राखौं भन्ने मूल्य ८० हजार पुग्न लागि सक्यो । त्यसकारण अत्ति आवश्यक पर्ने बाहेक अरुले त किन्दै किन्दैनन् नि ।’

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य कति छ ?

भारतमा सुनको मूल्य १० ग्राम तथा २४ क्यारेटको ४२ हजार ६ सय ८० भारतिय रुपैया रहेको छ । भने १० ग्राम तया २२ क्यारेटको ४० हजार ६ सय ५० रहेको छ । अमेरिकामा भने प्रतिवान्स सुनको मूल्य १६४५.५० डलर रहेको छ । प्रतिग्राम ५२. ९० डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here