पोलमा गुजुल्टिएका अधिकांश तार प्रयोगविहीन

काठमाडौं, १८ फागुन । काठमाडौं उपत्यकाका सडक छेउका पोलमा झुन्डिएका अधिकांश तार प्रयोगविहीन रहेको पाईएको छ । पोलमा गुजुल्टिएका तारमध्ये ६० देखि ७० प्रतिशत सम्म प्रयोगविहीन रहेका प्राधिकरणले जनाएको छ ।

नेपालको राजधानी लगायत देशका विभिन्न सहरहरु विद्युत् तथा केबलका पोलमा विद्युतीय तथा केबल तारका कारण कुरुप बन्दै गइरहेका छन् ।

त्यसमध्ये पनि करिब आधा करोडको हाराहारीमा मानिसहरु बसोबास गर्ने देशको राजधानी काठमाडौंले तारहरुकै कारण आफ्नो सौन्दर्य गुमाउँदै गएको छ।

काठमाडौंमा रहेका हरेक विद्युत्का पोलमा अहिले माकुराको जालोभन्दा पनि कयौं गुणा बाक्ला तारको जालो सहजै देख्न सकिन्छ। तार परिवर्तन गर्ने बेलामा पुरानो तार ननिकाली त्यसैमा अन्य तार थप्दै जाँदा प्रयोगविहीन तराको कारणनै विद्युत्का पोलमा तारैतार देखिन्छ ।

महानगरले जडान भएका अनावश्यक तार हटाउन विभिन्न निकायहरुलाई ६ महिनाभित्र व्यवस्थित गर्ने निर्देशन दिएको थियो । त्यहि अनुरुप स्थानीयले तार काट्ने काम सुरु गरेको थियो । तार काट्ने क्रममा इन्टरनेटको तारसमेत काटिएपछि त्यसको धेरै विरोध भएको थियो ।

हाल महानगरले कलंकीदेखि त्रिपुरेश्वर, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, माइतीघरमण्डलादेखि पुलतीसडक, जय नेपाल हल हुँदै नागपोखरी, नक्साल, बालुवाटार, माइतीघर तीनकुने हुँदै कोटेश्वरतर्फ र सिंहदरबारको पूर्वी साइड अनामनगर, थापागाउँ हुँदै नयाँबानेश्वरसम्म तार व्यवस्थापन गरिरहेको छ ।

जसले पनि पोल देख्ने बित्तिकै लगेर तार टाँग्ने प्रवृत्तिका कारण कुरुप बनेको राजधानी काठमाडौँले अब भने मुक्ति पाउने भएको छ ।

सरकारले पहिलो चरणमा काठमाडौँ महाराजगञ्ज र रत्नपार्क क्षेत्रका तार भूमिगत बनाउने कामको थालनी गरेको छ ।

प्राधिकरणले सो कार्यका लागि सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सन् २०२१ भित्र तार भूमिगत गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य छ ।

हाल सो काम ठप्प भएको छ । व्यवस्थित सहरमा विद्युत्को व्यवस्थित वितरणका लागि पोल गाडिएका हुन्छन् । ती पोलमा विद्युतीय तार टाँगिन्छन् र घरघरमा विद्युत् प्रसारण गरिन्छ । अर्को, टेलिफोनका लागि पनि सहरमा पोल गाडिएका हुन्छन् ।

टेलिफोन, इन्टरनेट, केबल टिभी आदिका तार तिनै पोलमा टाँगिएका हुन्छन् । यस्ता पोलहरू ऊर्जा तथा सञ्चार सेवा व्यवस्थित वितरण गर्न उपयोग गरिएका हुन्छन् ।

नेपालमा भने यी पोलहरु दुरुपयोग गरेर जथाभावी तारहरु टाँग्दा सहर नै कुरुप बन्दै गएका छन् भने यी तारबाट मानवीय तथा भौतिक क्षति हुने अवस्था पनि आइरहेको छ । यी पोलहरुमा सरकारी तथा निजी कम्पनीहरुले जथाभावी तार टाँग्दा सहरहरु कुरुप बन्दै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here