एक वर्षमा २२ करोड ९५ लाखको कपाल निर्यात

काठमाडौं, १९ फागुन । काठमाडौं लगायत देशैभरका सहरमा सैलुन र पार्लर छन् । ती सैलुन र पार्लरले काटेको कपाल जम्मा गर्छन् ।

कतिपयले फोहोरको रुपमा फालेपनि कतिपयले भने त्यसबाट आम्दानी गर्दै आएका छन्, त्यो पनि विदेश निर्यात गरेर । नेपालबाट निर्यात हुने सामग्रीमध्ये कपालको माग बढ्ने क्रममा रहेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार नेपालले आर्थिक वर्ष नेपालले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २२ करोड ९५ लाख २१ हजार ८ सय ४० रुपैयाँमा ७ हजार ४ सय ३० केजी कपाल निर्यात भएको छ ।

केन्द्रको तथ्यांकअनुसार नेपालबाट चीन, बेल्जियम, भुटान, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा कपाल निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ५६ लाख ८० हजार ८ सय १० रुपैयाँमा ७ हजार १ सय ७३ केजी कपाल निर्यात भएको केन्द्रको तथ्याङमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ४ करोड ३८ लाख ४१ हजार ३० रुपैयाँले कपाल निर्यात वृद्धि भएको छ ।

त्यसको चार वर्षअघि साढे दुई करोड बराबरको मात्र निर्यात गरिएको थियो। कपालका अतिरिक्त दाह्री, आँखीभौँ, परेला पनि निर्यात गरिन्छ।

विभिन्न ब्यूटीपार्लर र सैलुनले काटेको कपाल जम्मा पारेर कपाल वा कपालबाट बनेको विग निर्यात हुने गरेको बताइन्छ। नेपालबाट कपाल निर्यात हुन थालेको दुईदशक भन्दा बढि भइसकेको छ । कपालसँगै आँखी भौं, परेला र दाह्री पनि निर्यात हुने गरेको छ ।

सैलुनभन्दा पार्लरमा जम्मा हुने कपाल बढी विदेश निर्यात हुन्छ । केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा ८ करोड ५७ लाख ३ हजार ९ सय ८३ रुपैयाँको २ हजार १ सय ५४ केजी कपाल निर्यात भएको छ ।

जापानमा ३ करोड ३६ लाख १५ हजार १०८ रुपैँयाको १ हजार १०६ केजी कपाल निर्यात भएको छ । चीनमा २ करोड ५७ लाख ६१ हजार ६८० रुपैँयाको ५२१ केजी कपाल निर्यात भएको थियो ।

नेदरल्यान्डमा १ करोड ७३ लाख ८० हजार ९०४ रुपैँयाको ८५६ केजी कपाल निर्यात भएको थियो । ताइवन चीनमा १३ लाख ६७ हजार १५५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । बेल्जियममा ५ लाख ७५ हजार ४६१ रुपैँयाको ५२ केजी कपाल निर्यात भएको थियो ।

बेलायतमा ३ लाख ७९ हजार ८८५ रुपैँयाको ३८ केजी कपाल निर्यात भएको थियो । स्वीजरल्याडमा ३ लाख १० हजार ४८५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो ।

नेपालबाट निर्यात भएको कपाल विदेशीले टाउकामा राख्नकै लागि प्रशोधन गरेर बेच्छन् । प्रशोधन गरिएको कपाल नेपालमै पनि आयात हुने गरेको छ । तर महंगो पर्ने भएकाले प्रशोधन गरिएको कपालको खपत भने धेरै छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here